काठमाडौं। नेपालमा स्थानीय निकायका कर्मचारीहरु संघीयता लागूभएपछि दिनानुदिन भ्रष्ट बन्दैगएको छ। त्यसको उजागर एक पछि अर्को गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेर सार्वजनिक गर्दैआएको छ।

काठमाडौं महानगरपालिकामा भ्रष्टाचार गर्ने नायव सुव्वा कम्प्युटर अप्रेटर कृष्णप्रसाद सुवेदीलाई मोटो रकम सहित रंगेहात अख्तियारले समातेको धेरै समय भएको छैन्। त्यस्ता भ्रष्ट कर्मचारीहरुलाई ठाउंका ठाउं पक्राउ गर्ने अख्तियारको अभियान अन्तर्गत जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपमहानगरपालिकाका लागि विद्युतीय सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा सुवेदीसहित उपसचिव मदन घिमिरे ,शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायब सुव्बा अब्दुल जब्बारविरुद्ध जनही ११ लाख ३५ हजार विगो कायम गरी मुद्दा दायर गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीसहितले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरी अनुचित प्रभावमा सामान खरिद गरेर सरकारलाई ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा हानीनोक्सानी पुर्‍याएको जिकिर आरोपपत्रमा गरिएको छ।

मिश्रविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा९४० बमोजिमको कसूर गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १४ गते मंगलवार ।