काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ को भवन शिलान्यास भएको छ। सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा नंबर १८ को भवन निर्माण शिलान्यास गरेका हुन्।

मेयर शाक्यले आफ्नो कार्यकालमा नै काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयको भवन निर्माण गर्ने योजना अनुरुप वडा नंबर १८ को भवन निर्माण शिलान्यास भएको भनेका छन्। यसअघि अघिल्लो शनिवार वडा नंबर २६ को भवन निर्माण शिलान्यास भएको थियो।

१८ नंवर वडा भवनको ढाँचा मौलिक र परम्परागत शैलीको हुने जानकारी १८ नंबर वडाका वडा अध्यक्ष न्हूच्छेकाजी महर्जनले भिजन संसार डटकमलाई बताएका छन्। वडा अध्यक्ष महर्जनका अनुसार,वडा भवन बाहिरबाट हेर्दा परम्परागत शैलीको हुने र भित्री संरचना निक्कै बलियो हुनेगरी निर्माण हुने भएको छ।

नरदेवी मन्दिरबाट ताम्सिपाखा जाने सडकको बायाँतर्फ नरदेवी आयुर्वेदिक अस्पतालसँगै साविककै ठाउँमा १८ नंबर वडा कार्यालय भवन निर्माण हुने भएको छ। भवनको प्लिन्थ एरिया ३०० स्क्वायरफिट को हुनेछ भने कुल फ्लोर एरिया १०५० स्क्वायर फिट हुनेछ। भवनको डिजाइन इञ्जिनियर गौरव श्रेष्ठले गरेका हुन्।

वडा भवन निर्माणका लागि माउन्टेन टु तराई कन्स्ट्रक्सनले भ्याटबाहेक ३५ लाख ४३ हजार ४४३ रुपैयाँ २० पैसामा कार्य सम्पन्न गर्न कबोल गरेको छ। यसको निर्माण कार्य २०७६ साल कार्तिक ६ गतेभित्र हुने भनिएको छ। भवन निर्माणको लागत हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहोर्ने छ।

प्रकाशन मिति–२०७५ साल माघ ७ गते सोमवार ।