काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालय तथा केन्द्रिय कार्यालयलाई सुविधा सम्पन्न र सेवाग्राही मैत्री वनाउने नीतिलाई महानगरपालिकाले लिएको छ। सोही अनुरुप काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य लगायतका जनप्रतिनिधिहरुको वहाली भैसकेयता एकपछि अर्को गरेर एउटै शैलीमा सेवाग्राही मैत्री तथा सुविधा सम्पन्न वडा कार्यालय भवनहरुको धमाधम निर्माण हुन थालेको हो।

ती निर्माण संपन्न भएका भवनहरुवाट सेवा प्रवाह पनि हुन थालेको छ। यसक्रममा त्यसैलाई निरन्तरता दिदैँ बडादशैंको प्रमुख दिन फूलपातीको अवसर पारेर काठमाडौं महानगरपालिका वडा नंबर ९ कार्यालयको नव–निर्मित भवनको उदघाटन भएको छ। काठमाडौंको बत्तिसपुतली स्थित वडा नंबर ९ कार्यालयको मेयर शाक्यले उदघाटन गरेका छन्। उद्घाटनपछि मेयर शाक्यले कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने भनेर गरेको निर्णयलाई पुर्णता दिएरै छाड्ने बताएका छन्।

काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ भने भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा रहेका छन्। वडा नंबर २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ भने वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ।

केही दिन अघि मात्रै मेयर शाक्यवाट नै वडा नंबर २२ को वडा कार्यालय भवन शिलान्यास भैसकेको छ। यसअघि वडा नंबर १८ को भवन निर्माण सम्पन्न भएर उदघाटन भैसकेको छ। वडा नंबर ३,४,१४ र २६ को भवन निर्माण संपन्न भैसकेको छ। चाँडै नै यी वडाहरुको भवन उदघाटन हुने भएको छ। चाँडै नै काठमाडौं महानगरपालिकाको केन्द्रिय कार्यालय भवन निर्माण शिलान्यास पनि हुने मेयर शाक्यले वताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक ७ गते शुक्रवार (फूलपाती)