काठमाडौं। कोरोनाको दोश्रो लहर नेपालमा पनि देखिन थालेपछि सरकारले भीडभाड हुने पार्क, फनपार्क, जात्रापर्वमा खासै कुनै नियन्त्रण नगरेको अवस्थामा विद्यालय मात्र बन्द गराउन खोजेको चर्को आरोप खेपिरहेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाले नयाँ उपाय निकालेको छ।

त्यो हो–काठमाडौं महानगरपालिकाका विद्यालयका शिक्षक तथा विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न अनिवार्य निर्देशन सहितको उपाय निकालेको छ। बुधबार बसेको मेयरस्तरीय बैठकले काठमाडौं महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको छ।

त्यस्तै संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ । त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा सञ्चालन गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।


प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते शुक्रवार ।