काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई तथा उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि विहीवार अपिल जारी गर्दै मेयर शाक्यले, जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीहरुको व्यक्तिगत सम्पर्क नं. सार्वजनिक गरिएको बताएका छन्। ‘विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन। यहाँ महानगरवासीसँगै देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन्। विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण यहाँ पनि द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ। नेपाल सरकारले यस सम्बन्धमा जारी गरेका आदेश निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो ।’

शाक्यले अपिलमा भनेका छन्, ‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’

‘काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामी सामु छ। विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको विशिष्ट महत्व रहिआएको छ। अतः यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो। यहाँ विभिन्न धर्म तथा संस्कृति मान्ने समुदायको बाहुल्यता छ। मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ।

यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु।’ मेयर शाक्यले अपिलमा भनेका छन् ।

मेयर शाक्यले अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गरेका छन्। दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिटै नै महामारीमाथि विजय पाउन सकिने उल्लेख गर्दै मेयर शाक्यले सानातिना लापरवाहीले ठूला समस्या आउनेतर्फ सचेत बनेर सबैले दायित्व गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौं महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोविडबाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएमा हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न मेयर शाक्यको अनुरोध छ ।

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै मेयर शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न आग्रह गरेका छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख १६ गते विहीवार ।