काठमाडौं। नेपालको ७७ जिल्लाका बासिन्दाको बसोबास रहेको संघीय राजधानी काठमाडौं महानगरमा घरधनी र घरभाडामा बस्नेकै बढी समस्या देखिएको छ। एकातिर काठमाडौं महानगरमा घरभाडामा पाउनै गाह्रो हुने र पाएपनि घरधनीको मनपरि घरभाडा असुल्ने प्रवृति पनि नदेखिएको होइन्।

 

अर्कोतर्फ घरभाडामा बस्नेहरुको पनि मनपरि गर्ने प्रवृतिले पनि घरधनी र घरभाडामा बस्नेहरुवीच खासै समझदारी हुन सकिरहेको अवस्था भने छैन्। यही समस्याको कारण काठमाडौं महानगरपालिकामा घरधनी र घरभाडामा बस्नेहरुकै विशेष उजुरी आउने गरेको काठमाडौंं महानगरपालिका न्यायिक समितिले जनाएको छ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ संयोजक रहेको महानगरको न्यायिक समितिमा विशेष घरधनीका धेरै समस्याको उजुरी आउने गरेको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बताएकी छन्। घर भाडामा बस्नेले सम्बन्धित घरधनीलाई समयमानै भाडा नबुझाएको र अन्त्यमा जानकारी बिनै कोठा छोडी जानेको उजुरी सङ्ख्या बढिरहेको उपमेयर खड्गी श्रेष्ठको भनाई रहेको छ।

उपमेयर खड्गी श्रेष्ठका अनुसार यस्ता किसिमका उजुरी दैनिक दश वटासम्म आउने गरेका छन् । विशेषगरी कलङ्की, कोटेश्वर, बानेश्वर, बागबजार क्षेत्रबाट यस्ता किसिमका उजुरी घरधनीले गर्ने गरेका छन्।

यससँगै सार्वजनिक बाटो सम्बन्धी, छिमेकीसँगको विवाद, पानीको समस्याबारे पनि उजूरी आउने गरेका छन् । घरभाडा सम्बन्धी दश र अन्य पाँच गरी हाल न्यायिक समितिमा दैनिक १५ उजूरी आउने गरेका छन् ।

आएका उजुरीमध्ये हालसम्ममा विभिन्न प्रकारका गरी २५ को किनारा लगाउन बाँकी रहेको महानगरले जनाएको छ। प्रत्येक हप्तामा एक दिन काठमाडौं महानगरपालिकाको न्यायिक समितिले उजूरी हेर्ने गरेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।