काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन प्रयोगमा बढी जोड दिने भएको छ। काठमाडौं महानगरमा बढ्दो सवारी प्रदूषणलाई नियन्त्रण गर्न यसप्रकारको योजना काठमाडौं महानगरपालिकाले गर्न लागेको हो।

यसको लागि काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ। यातायात व्यवसायीसँग विहीवार काठमाडौं महानगरपालिकाको सचिवालयमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न अत्यन्त आवश्यक रहेको ठहर गरेका छन्।

मेयर शाक्यले विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएको र त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्ने बताएका छन्।

यातायात व्यवसायी भेषबहादुर थापाले काठमाडौंका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुल्डीमा पनि सहजै गुड्न सक्ने विद्युतीय बस ल्याउन लागेको जानकारी मेयर शाक्यसंगको छलफल कार्यक्रममा भनेका छन्।

व्यवसायी थापाका अनुसार, सुन्दर यातायातले अबको दुई महिनाभित्र ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस काठमाडौं महानगरमा सञ्चालन हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल मंसीर १३ गते विहीवार ।