काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरमा सिसिटिभि अर्थात क्लोज सक्र्युट टेलिभिजन जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई प्रदान गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिसर काठमाडौंबीच सिसिटिभि प्रणाली जडान र सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर तथा रकम हस्तान्तरण कार्यक्रम भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । सम्झौतामा महानगरकातर्फबाट सहसचिव डा. टोकराज पाण्डेले र परिसरकातर्फबाट प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

महानगरपालिका प्रथम पक्ष र परिसर दोश्रो पक्ष भएर गरिएको सम्झौताबमोजिम प्रणाली जडान र सञ्चालन गर्ने काम परिसरले गर्नेछ। यस प्रणालीबाट शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासनसँग सम्बन्धित गतिबिधि निगरानी गरिने भएको छ।

रकम हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल प्रहरीलाई महानगरपालिकाले पैसा होइन, जिम्मेवारी दिएको बताएका छन्। यसले काठमाडौं महानगरपालिकाभित्र अपराध नियन्त्रण हुनुका साथै फोहर व्यवस्थापनमा पनि सहयोग मिल्ने मेयर शाक्यले भनेका छन्। जथाभावी फोहर फालेर शहरको सौन्दर्यलाई खलल पार्नेहरुलाई सिसिटिभिको माध्यमवाट कारवाही गर्न सहज हुने विश्वास पनि मेयर शाक्यले व्यक्त गरेका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले राम्रो गहन कार्यको शुभारम्भ भएको जिकिर गरेकी छन्। उपमेयर खड्गीले सवैलाई सिस्टममा आउन सचेत गराउने बताएकी छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई अपराध नियन्त्रण तथा अनुसन्धान गर्न अत्यन्त सहज हुने तथा शहरलाई फोहरमुक्त बनाउने कार्यमा पनि सिसिटिभिले सहयोग गर्ने बताएका छन्।

काठमाडौं उपत्यकामा ४ सय ६० सिसिटिभि रहेको छ। अव काठमाडौं महानगरपालिकाका गल्ली–गल्लीमा समेत सिसिटिभि जडान गर्ने कार्यमा महानगरीय प्रहरी परिसरले जिम्मेवारी पाएको छ। यसको लागि आवश्यक सडक बत्ती काठमाडौं महानगरपालिकाका सडक तथा गल्ली–गल्लीमा बत्ती जडान गर्ने कार्य भैसकेको पनि महानगरपालिकाले जनाएको छ। नभएका ठाउंहरुमा पनि व्यवस्थित रुपमा सडक बत्ती जडान गर्ने कार्य तुरुन्तै हुने बताइएको छ।

प्रकाशन मिति–२०७५ साल फागुन १५ गते बुधवार ।