काठमाडौं । चीनको छेन्दु नगरले काठमाडौं महानगरपालिकालाई दुईवटा उपहार दिएको छ। आइतवार आयोजित कार्यक्रममा उक्त दुईवटा ब्रुमर उपहार दिएको हो। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चीनको छेन्दु नगरका उपमेयर निउ छिङ्पाओेले काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेको हो।

दुवै ब्रुमरको साँचो हस्तान्तरण कार्यक्रम पश्चात दुवै ब्रुमरको उदघाटन पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठवाट भएको थियो। ब्रुमर हस्तान्तरण कार्यक्रममा मेयर शाक्यले चीनको छेन्दु नगरबाट उपहारस्वरुप ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदुषण नियन्त्रणमा थप सहयोग पुग्ने बताएका छन्।

मेयर शाक्यले यो आपसी हितको उहादरण हो भन्दै काठमाडौं महानगरवासीसको तर्फबाट चीनको छेन्दु नगरवासीलाई धन्यवाद पनि दिए। त्यस कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीचको सिकाइबाट नगर र नगरबासीको समृद्धिमा योगदान पुग्ने आशा व्यक्त गरेकी छन्।

त्यसै क्रममा छेन्दु नगरका उपमेयर निउ छिङ्पाओले छेन्दु नगरबासीकातर्फबाट दिएको उपहारले काठमाडौंको वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। समारोहमा नेपालका लागि चिनियाँ दूताबासका डिपुटि चिफ अफ मिसन याङ् सृछाओले छेन्दुले दिएका ब्रुमरले शहरको धुलो न्युनिकरणमा सहयोग गर्ने बताए। छेन्दु नगरले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखा प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् ।

गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ।

भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३ सय ७२ रुपैयाँ हो । चीनको छेन्दु नगरले उपहार दिएको दुईवटा ब्रुमर सहित अव काठमाडौं महानगरपालिकासंग ७ वटा सुविधासंपन्न ब्रुमर रहेको छ। केही समय पश्चात थप दुई वटा ब्रुमर इटालीवाट खरिद प्रणालीवाट ल्याइने पनि महानगरले बताएको छ। ब्रुमर हस्तान्तरण कार्यक्रम पश्चात छेन्दु नगर र काठमाडौं महानगरकातर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल असार १ गते आइतवार ।