काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव प्रचार प्रसारमा गाउं–ठाउं पुगिरहेका बाम–गठवन्धनका उम्मेदवार लक्षित गरेर बम प्रहार हुने क्रमको सिलसिला जारी रहेको छ। बम आक्रमण कार्यमा सत्तारुढ नेपाली कांग्रेस तथा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको वीच सांठगांठ रहेको जिकिर गरिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त जिकिर गर्दै यी दुई पार्टीको सांठगांठकै कारण उम्मेदवारहरुलाई बम आक्रमण भैरहेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले वाम गठबन्धनले मंगलबार काठमाडौमा गरेको काठमाडौ जिल्लाका वाम उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा चन्दा नदिएकै कारण सरकारले बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा पाएको चिनियाँ कम्पनी गेजुवाको लाइसेन्स खारेज गरेको आरोप समेत लगाए।

अध्यक्ष ओलीले कांग्रेससँग कुनै विचार र ‘भिजन’ नभएकाले वाम गठबन्धनप्रति विभिन्न भ्रम फैलाइरहेको आक्षेप पनि लगाए। कार्यक्रममा नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले समय, देश र जनताको आवश्यकताका कारण वाम गठबन्धन बनेको भन्दै पार्टी एकीकरण हुनेमा आशंका नगर्न आग्रह गरे।

काठमाडौ जिल्लाको निर्वाचन परिचालन कमिटीका अध्यक्ष काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको सभापतित्वमा बाम–गठवन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम भएको थियो। कार्यक्रममा मेयर शाक्यले काठमाडौ जिल्ला लालकिल्ला हुने तथा बाम–गठवन्धनका सवै उम्मेदवारहरु अत्याधिक बहुमतले विजयी हुने निश्चित भैसकेको पनि दावी गरेका छन्।

परिचयात्मक कार्यक्रममा माओवादी केन्द्रवाट उम्मेदवार बनेका हितमान शाक्य, हिमाल शर्मा लगायतले पनि बाम–गठवन्धन र चुनावको लगतै नेकपा एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने बताएका छन्। यसमा उनीहरुले कुनै शंका तथा उपशंका नगर्न पनि सवैलाई सचेत गराइएका छन्।

बाम–गठवन्धनवाट काठमाडौका दश क्षेत्रमा अनिल शर्मा, माधवकुमार नेपाल, हितमान शाक्य, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ लगायतका उम्मेदवारहरु मैदानमा रहेका छन्। त्यसैगरेर, प्रदेशसभा सदस्यमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, डाक्टर अजयक्रान्ति शाक्य, केशव पोखरेल लगायतका प्रभावशाली उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।