काठमाडौ। काठमाडौ महानगरपालिका तथा पल्पसा मिसाःपुचः र वटु चिकंअत टोल सुधार समाजको स्थानीय साझेदारी कार्यक्रम अन्तर्गत १५–दिने पब्लिक स्पिकिङ तालिम शुभारम्भ भएको छ। काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले तालिम कार्यक्रमको विधिवत रुपमा शनिवार उद्घाटन गरेर शुभारम्भ गरेका छन्।

तालिम उद्घाटन समारोहमा मेयर शाक्यले यस तालिमले मनको कुरा सवल ढंगवाट प्रस्तुत गर्न सक्ने अवधारणा प्रस्तुत गरेका थिए। महानगरको विकासमा हरतरहले अहोरात्र क्रियाशील भएर काम गर्दै रहेको जानकारी पनि मेयर शाक्यले दिएका छन्।

आसन्न निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशसभाका बामगठवन्धन नेकपा एमालेका उम्मेद्वार डा.अजय क्रान्ति शाक्यले पब्लिक स्पिकिङको महत्वलाई प्रकाश पार्दै वाम गठवन्धनको सरकारले नेपाली जनताको प्रतिव्यक्ति आय सात सय डलरबाट पाँच हजार डलर पुर्याउने लक्ष्य राखेको बताए।

तालिमका प्रमुख प्रशिक्षक तथा प्रसिद्ध संचारकर्मी निर्मल बज्राचायले हरेक व्यक्तिमा वाकशक्ति निहित भएतापनि बोल्दाखेरि सिलसिलेवार ढंगवाट प्रस्तुत गर्न आत्मविश्वास जगाउने कार्य तालिमले दिने बताएका छन्। पुचःका अध्यक्ष सरु श्रेष्ठको सभापतित्वमा कविता श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष अरुण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

काठमाडौको न्युरोड स्थित हिमालय विद्यालयमा संचालन हुने उक्त तालिममा रेडियो उपत्यकाका प्रस्तोताद्वय प्रज्वल शाक्य र विगेन तुलाधरले पनि प्रशिक्षण रहने भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २५ गते शनिवार ।