काठमाडौ। यसैपनि काठमाडौको ठाउं–ठाउंमा ट्राफिकजाम भएर हैरान भैरहेको छ। त्यसमाथि, पानी परेपछि काठमाडौका सडकमा अझ धेरै ट्राफिक जाम हुंदा अझ समस्या उत्पन्न हुने गरेको छ। त्यसमाथि सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौं उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको ठहर ट्राफिक प्रहरीको रहेको छ।

काठमाडौ उपत्यकामा धेरै सवारीसाधन हुनु अर्कोतिर साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुनु प्रमुख कारण बनेको ट्राफिक प्रहरीको जिकिर रहेको छ। काठमाडौको त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटी, नक्साल, टंगाल, भाटभटेनी, मैतीदेवी, पुरानो बानेश्वर लगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ।

कोटेश्वरमा त अचेल कलंकीमा भन्दा बढी जाम हुने गरेको छ। काठमाडौ उपत्यकाका मुख्य चोकमा अचेल पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ। वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ। कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन। तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ।

यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। अर्कोतर्फ बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन्। काठमाडौँ उपत्यकामा मात्र झण्डै ८ लाख सवारीसाधन प्रयोगमा छन्। उपत्यकामा १ हजार ५ सय किलोमिटरको हाराहारीमा सडक छ। सवारीभन्दा सडक कम हुनु र आवश्यकता भन्दा बढी सवारी साधन हुनु नै ट्राफिक जामको प्रमुख समस्या देखिएको छ।

प्रकाशन मिति–२०७५ साल साउन १५ गते मंगलवार ।