Bidhya Sundar Shakya
Bidhya Sundar Shakya

काठमाडौ। स्थानीय निर्वाचनको परिणाम रोचक र कौतुहल बन्दैगएको छ। मुलुकका चार महानगरपालिका मध्ये तीन वटामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार ८३ मतसहित अग्रस्थानमा छन्।

नेपाली कांग्रेसका राजुराज जोशीले ७ सय ४० मत प्राप्त गरेका छन् । विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ५ सय १ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ३ सय ८५ मत प्राप्त गरेका छन् । त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् । उनले अहिलेसम्म ५ हजार ३ सय ८२ मत प्राप्त गरेका छन्।

त्यसैगरी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार ५ हजार ३ सय ६३ मत ल्याएका छन् । पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसीले ४८५१ र कांग्रेसका रामजी कुँवरले ४५८९ मत प्राप्त गरेका छन् । उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २ हजार ५९ मतसहित आज विहान बुधबार ८ बजेसम्म अग्रस्थानमा छन्।

प्रधानमन्त्री प्रचण्डपुत्री नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १ हजार ६ सय २९ मत प्राप्त गरेकी छन्। जसलाई नेकपा एमालेकी देवी ज्ञवालीले पछाडि पारिसकेको अवस्था रहेको छ। स्थानीय निर्वाचनमा भरतपुरको यो निर्वाचन परिणामलाई अति महत्वपूर्ण मानिएर सवैले हेरेर बसेको पाइएको छ। अन्तिम परिणामसम्म प्रचण्डपुत्रीले बाजी मार्ने हुन या हार्ने हुन भनेर सवैको मनमा खुल्दुली बढिरहेको छ।

Renu Dahal
Renu Dahal

प्रकाशन मिति–२०७४ साल जेष्ठ ३ गते बुधवार ।