काठमाडौ। नेपालको राजधानी काठमाडौलाई ८५ प्रतिशत धुमपानरहित शहर बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो।

विश्व स्वास्थ्य संगठनका सदभावनादूत मिचेल आर ब्लोमवर्गको सहयोगमा काठमाडौ जनस्वास्थ्य कार्यालयले शहरलाई धुम्रपानरहित शहर अभियान शुरु गर्न लागेको हो। गत वर्ष संसारका १२औ धनी व्यक्ति अमेरिकाको न्युर्योक शहरका तथा पूर्वप्रमुख मिचेल आर ब्लोमवर्गलाई संगठनले नसर्ने रोग र इन्जुरी नियन्त्रणका लागि सदभावना राजदूत नियुक्ति गरेको थियो। उनले नै संसारका ५० शहरलाई स्वस्थ शहर बनाउने घोषणा गरेका थिए।

संगठनले विश्वका इच्छुक शहरलाई स्वस्थ शहर बनाउन १० वटा क्षेत्रमध्ये कुनै एक क्षेत्र छनौट निवेदन माग गरेको थियो । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले संगठनले आफूहरुले दिएको काठमाडौँ महानगरलाई धुमपानरहित बनाउने क्षेत्र रोजी निवेदन दिएकोमा काठमाडौ शहर पनि छनोट परेको बताएका छन्। एक वर्षमा काठमाडौ शहर ८५ प्रतिशत धुम्रपानरहित बनाउने तथा त्यसको अनुगमन महानगरीय प्रहरीले गर्ने बताइएको छ।

त्यसको प्रगति प्रतिवेदन काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी अक्टोबरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गर्ने प्रमुख श्रेष्ठले भनेका छन्।। उनले त्यसका लागि रु एक करोडको सम्झौता भइसकेको र क्रमबद्ध रुपमा रकम आउने क्रममा रु २५ लाख तुरुन्तै आउने बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १६ लाख मानिसको नसर्ने रोगका कारण ७० वर्ष अगाडि नै मृत्यु हुने गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पनि नसर्ने रोगबाट हुने मृत्युदर ६० प्रतिशतभन्दा बढी छ। त्यसका लागि क्याफे, होटल रेस्टुराँलगायतका सबै सरोकारवालासँग पनि छलफल गरी जनचेतना, अभिमुखीकरण कार्यक्रम गर्ने बताइएको छ। छानिएका ५० शहरमध्ये १४ शहर एसियाका परेका छन्। जसमध्ये एक काठमाडौ पनि परेको हो।
प्रकाशन मिति–२०७४ साल कात्तिक १९ गते आइतवार ।