काठमाडौ। नेपालमा पहिलो पल्ट हलिउड तथा बलिउडमा जस्तै बक्स अफिस प्रणाली लागू भएको छ। नेपाल सरकारले नेपाली चलचित्र उद्योगमा आज साउन १ गतेदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको हो।

चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन्। कार्यक्रममा मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले बक्स अफिस कार्यान्वयनमा आएपछि चलचित्र क्षेत्रमा भएका विकृतिमा सुधार आउने जिकिर गरे।

चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बक्स अफिसको लागू हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई सही तबरले कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्। साउन १ गतेवाट उपत्यकाका सबै हलमा बक्स अफिस लागू भएको बताइएको छ। उपत्यका बाहिरका हलमा माघ १ गतेदेखि लागू हुने भनिएको छ।

उक्त प्रणाली जडान भएपछि प्रत्येक सिंगल र मल्टिप्लेक्स हलका सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउँछ। यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्ने भएका छन् । ‘बक्स अफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ।

बक्स अफिस लागू भएकोमा चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्का तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी दुवैले स्वागत गरेका छन्। चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले सरकारले आजवाट शुभारम्भ गरिएको ई–टिकेटिङ मात्र भएतापनि बक्स अफिस लागूको पहिलो कदमको रुपमा आफूहरुले लिएको प्रतिक्रिया व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७५ साल साउन १ गते मंगलवार