Ghode Jatra

काठमाडौ। प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने गरेको घोडेजात्रा आज सोमवार परेको छ। काठमाडौ उपत्यकामा मनाइने यो घोडेजात्रा पर्व प्राचिन जात्रा मानिन्छ।

काठमाडौ उपत्यकामा यो जात्रालाई रौनकताको जात्राको रुपमा पनि लिइने गरेको छ। परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो।

घोडेजात्राका दिन नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने गर्छन् । घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ ।

काठमाडौँको टुडिखेलमा बर्षेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा भने यसदिन एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ । काठमाडौ उपत्यकामा सरकारले घोडा जात्राको अवसरमा सार्वजनिक विदा दिएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र १४ गते सोमवार ।