काठमाडौ। आर्थिक क्रान्तिको लागि संघर्षशील क्रान्तिकारी संगठन ह्याउँनिभाः पुचःले काठमाडौ महानगरपालिकाका मेयरको कार्यकालको सफलताको लागि बधाई तथा शुभकामना दिएका छन्।

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बागदरवारस्थित कार्यकक्षमा नै पुगेर ह्याउँनिभाःपुचःले बधाई तथा शुभकामना दिएका हुन्। काठमाडौका जनताको चाहना तथा सोच अनुसार कार्य गर्न मेयर शाक्यलाई शुभकामना दिने कार्य भएको ह्याउँनिभाः पुचःका राकेश मास्केले भिजन संसारलाई बताएका छन्।

त्यसै कार्यक्रममा मेयर शाक्यलाई काठमाडौको मुख्य शहर असन क्षेत्रमा ट्राफिक व्यवस्थापनका नाममा चारपांग्रे सवारी आगमनमा रोक लगाउंदा त्यहाँका स्थानीय जनतालाई पर्न गएको असुविधाको बारेमा पनि ध्यानाकर्षण गर्ने कार्य भएको छ। विशेषत सवारी आगमनमा प्रवेश–निषेध गर्दा बृद्धबृद्धा तथा बालबच्चा अनि कुनै आपतकालिन अवस्थामा अत्यन्त समस्या पर्न गएको अवगत गराएको छ।

असन क्षेत्रमा ट्राफिक जाम हुनुको कारण सडक ओगटेर सडकमा नै पसल थाप्नेहरुका कारण सडक साँघुरो हुन पुगेको जस्ता कारणहरु पनि औल्याएर त्यसको समाधान खोजी गरेर स्थानीय जनता तथा स्थानीय व्यापारी लगायतलाई सहज गर्ने निकास खोज्न अनुरोध गर्ने कार्य भएको ह्याउँनिभाःपुचःले जनाएको छ।


प्रकाशन मिति–२०७४ साल माघ ८ गते सोमवार ।