Local Election

काठमाडौ। नेपालको पहिलो तथा जेठो महानगरपालिकाको मतगणना संपन्न हुन अझै केही दिन लाग्ने देखिएको छ। सोमवारसम्म स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ।

गत हप्ताको सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताएका छन्। कुल २ लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३) मत खसेको थियो । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा निर्वाचन कार्यालयले १३ स्थानमा गणना गरिरहेको छ ।

दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मतगणनामा ढिलाइ भएको छ। ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने गरेको छ । बिहान ७ देखि साँझ ६ बजेसम्म एक समूह र साँझ ६ देखि बिहान ६ बजेसम्म अर्को समूहले मगगणना गरिरहेका छन्। अहिले दैनिक १५ देखि २० हजार मतगणना भइरहेकामा सकिन अझै पाँच दिन लाग्ने अनुमान गरिएको छ । अब ७६ हजार २४२ मतगणना गर्न बाँकी छ । पहिले तीन ठाउँमा मात्र गणना गरिएकामा ढिलाइ भएपछि थप स्थानमा मतगणना गरिएको हो।

Bidhya Sundar & Raju Raj Joshi
Bidhya Sundar Shakya & Raju Raj Joshi

३२ वडा रहेको महानगरपालिकामा अहिलेसम्म १३ वटा वडाको मात्र मतगणना सकिएको छ । तीमध्ये नेकपा एमालेले सात र नेपाली काँग्रेसले छ वडामा विजय हासिल गरेका छन् । केही वडामा प्रमुखमा नेपाली काँग्रेसका राजुराज जोशीले बढी मत ल्याए पनि एमालेका विद्यासुन्दर शाक्यलाई मत गएको देखिन्छ । पचास प्रतिशत मतगणना सकिँदा प्रमुखमा मुख्य प्रतिस्पर्धा शाक्य र जोशीबीच भइरहेको छ।

पहिलेदेखि अग्रता हासिल गरेका शाक्यले अहिले अझ बढी अग्रता हासिल गरेका छन् । नयाँ उदाएका विवेकशील नेपाली दल र साझा पार्टीले पनि सोचेभन्दा राम्रो मत पाएका छन् । सोमवार राति ७ बजेसम्मको मतपरिमाणानुसार नेकपा एमालेका शाक्यले  ३२ हजार १ सय ६६ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। शाक्यका प्रतिव्दन्दी नेपाली काँग्रेसका जोशीले २२ हजार ९३२ मतले पछ्याइरहेका छन्।

Ranju Darsana
Ranju Darsana

विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले १२ हजार ४ सय ५७, साझा पार्टीका किशोर थापाले ९ हजार ३३२ तथा नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ३ हजार ४ सय ५४ मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा काँग्रेसका हरिप्रभा खड्गीले २९ हजार ६५, राप्रपाका राजाराम श्रेष्ठले १७ हजार ७३१, साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ९२० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार ५९३ मत प्राप्त गरेका छन्।

Hari Prabha Khadgi
Hari Prabha Khadgi

चार महानगरपालिकाको मत परिणाम

काठमाडौं
राजुराज जोशी २२९३२
बिद्यासुन्दर शाक्य ३२१६६
रञ्जु दर्शना १२४५७
ललितपुर
चिरीबाबु महर्जन १९५८३
हरिकृष्ण व्यञ्जनकार १७६४८
रमेश महर्जन ११९०९
भरतपुर
देवी ज्ञवाली २२९८२
रेणु दाहाल २०१९९
ब्रद्री तिमल्सिना २१८२
पोखरा
रामजी कुँवर २००४९
मानबहादुर जिसी २१८७८
गीता गुरूङ ७५१

प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।