काठमाडौ। नेपालको पहिलो महानगर काठमाडौ महानगरपालिकाको मुख्यालय भवन रहेको भवन ऐतिहासिक बाघदरबार नभएर हरिभवन भएको खुलासा भएको छ ।
काठमाडौ महानगरपालिकाले ऐतिहासिक बाघदरबार विसं.१९९० सालको महाभूकम्पपछि अस्तित्वमा नरहेको तथ्य सार्वजनिक गर्दै अहिले बाघदरबार भन्ने गरिएको भवन विसं.१९९० पछि जुद्धशमशेरका छोरा हरिशमशेरले बनाएको दरबार भएको खुलासा गरेको छ।

विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले क्षति बनाएको काठमाडौ महानगरपालिकाको उक्त मुख्यालय रहेको भवन पूर्णरुपमा भत्काएर नयाँ बनाइने भएको छ। नयाँ भवनको स्वरुपसमेत सार्वजनिक गरेको छ । १७ रोपनी ७ आना २ पैसा ३ दाम क्षेत्रफलमा लिच्छवि, मल्ल, राणाकालीन र आधुनिक शैलीका भवन निर्माण गर्ने काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भनेका छन्। अग्रभागको भवन पुरानो बाघदरबारकै स्वरुपको तीनतल्ले हुनेछ भने दोस्रो भवन लिच्छवि र मल्लकालीन शैलीको साढे ६ तल्ले हुनेछ।

त्यस्तै, तेस्रो भवन भने आधुनिक टावर स्वरुपमा १५ तल्लाको हुने जनाइएको छ । टावरबाट काठमाडौं उपत्यका, वरपरको हिमशृंखला हेर्नसकिने र अरु तल्लहरुमा आइटी पार्क, अन्तर्राष्ट्रियस्तरको कूटनीतिक बैठक सेमिनार र सभा हलहरु रहने जनाइएको छ । भवनमा म्युजियम, स्वास्थ्य सेवा–सुविधा, ढुंगेधारा र पाटीपौवासमेत रहने जनाइएको छ । भूमिगत तल्लासहित पार्किङको व्यवस्था रहेको भवनको लागत १ अर्ब ५० करोड रुपैयाँ रहने र ४२ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य रहेको जनाइएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १४ गते मंगलवार ।