काठमाडौ। काठमाडौ महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर शहर बनाउने कार्यमा अहोरात्र काम भैरहेको बताएका छन्। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आवश्यकताअनुसार यथोचित विकास निर्माणको बजेट निकासा भैसकेको र तिब्र विकास निर्माणका कार्य भैरहेको मेयर शाक्यले जिकिर गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका वडा नंबर १६ वडा कमिटीको आयोजनामा नयाँबजार मल्टीभेन्युमा आयोजित विसं.२०७४ सालको एसईई परीक्षामा उत्तिर्ण १६ वडाका विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले उक्त कुरा भनेका हुन्।

मेयर शाक्यले आफूले चुनावको बेलामा गरेका सवै प्रतिबद्धता एक–एक अक्षरसःपालना गर्दै जोडदार रुपमा पूरा गर्ने कार्य भैरहेको दावी गरेका छन्। विपक्षीहरुले विभिन्न भ्रमको खेती गरेर मेयरले गरेका कार्यलाई ओझेलमा पार्दै मेयरलाई असफल पार्ने प्रयासमा रहेको बताउंदै त्यसप्रकारका भ्रमवाट मुक्त बन्न पनि काठमाडौं महानगरपालिकावासीहरुलाई सचेत बन्न मेयर शाक्यले आग्रह समेत गरेका छन्।

काठमाडौं महानगरपालिकाले लिदैआएका विभिन्न शिर्षकका करहरुमा छुट तथा निःशुल्क गर्ने कार्य भएको र महानगरवासीलाई जसरी भएपनि राहत दिने कार्य आफूवाट हुने र काठमाडौंको विद्यमान फोहोर समस्यालाई निराकरण गर्न सडक सफा गर्ने ब्रुमर ल्याउने अन्तिम तयारी भैसकेको मेयर शाक्यले भनेका छन्।

अर्कोतर्फ काठमाडौं महानगरपालिकाले १६ जना सिभिल तथा आर्टिटेकतिरका युवा इन्जिनियर उत्पादन गर्न छात्रबृति प्रदान गर्ने कार्य भैसकेको र त्यसरी छात्रबृति पाएका युवा इन्जिनियरहरुले काठमाडौ निर्माण गर्न कार्य गरिरहेको पनि खुलासा गरेका छन्।

संघीयता पश्चात स्थानीय सरकारको मातहतमा शिक्षा क्षेत्र पनि आइसकेको कारण शिक्षालाई काठमाडौं महानगरपालिकाले विशेष महत्व दिएको बताउंदै मेयर शाक्यले कि मान्छे पढे्र त कि परेर जान्ने गरेको उदाहरण दिदै शिक्षामा सैंद्धान्तिक तथा व्यावहारिक दुवै शिक्षा आवश्यक भएको कुरामा जोड दिदै काठमाडौमा मोनोरेल गुडाउने आफ्नो सपना पूरा हुने क्रममा रहेको पनि बताए।

कार्यक्रममा काठमाडौं क्षेत्र नंबर ७ का प्रदेशसभासद बसन्त मानन्धर, नेपाल कम्युनिष्ट पाटी (नेकपा)का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समृद्ध काठमाडौ निर्माणमा काठमाडौं महानगरपालिकाले प्रभावकारी कार्य गरिरहेको दावी गरे। १६ वडावासी एसईई परीक्षामा उतिर्ण १ सयभन्दा बढी विद्यार्थीहरुलाई सम्मान प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल भदौ १६ गते शनिवार ।