काठमाडौं। यो बर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, ३ नंबर प्रदेशका सांसदहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी कात्तिक १३ गते पनि विदा दिन आग्रह गरेका थिए।

जुन आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक बनेको जानकारी ३ नंबर प्रदेश सभाका सांसद डाक्टर अजयक्रान्ति शाक्यले भिजन संसार डटकमलाई दिएका छन्। सांसद डाक्टर शाक्यका अनुसार,
प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार कात्तिक १३ गते विदा उल्लेख नभएकाले यसलाई मन्त्रीपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएका छन्।

‘सरकारले पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्वपूर्ण पर्वहरुमा विदा दिँदा नेवाः समूदाय थप मारमा पर्ने गरेका छन्,’ सांसद डाक्टर शाक्यको भनाई छ,– ‘नेवाः समूदायको परम्परा अनुसार अहिले कात्तिक १२ गते भाइटिका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्न हामीले प्रधानमन्त्रीज्यूसँग आग्रह गर्यौँ । उहाँले तपाईँहरु ढुक्क भएर जानुहोस् । म मन्त्रिपरिषदमा छलफल गरेर सकारात्मक निर्णय लिन्छु भन्नुभएको छ । उहाँ सकारात्मक देखिनु भएको छ।’

सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता हुने र त्यो संभव नहुने पनि प्रष्ट पारेका छन् । ‘पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औँसी र १२ गते ७ बजेर ५१ मिनेट सम्म प्रतिप्रदा तिथि भनेको छ । त्यसपछि १२ गते नै भाइटिका भनेको छ,’ डाक्टर शाक्यले भनेका छन्– ‘पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपूजा नै हराउँछ ।’

डाक्टर शाक्यका अनुसार नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । ‘नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यो दिन नेवाः समूदायले दिनभरी धुमधामसँग नेपाल सम्वत मनाउँछन र बेलुका म्हपूजा गर्छन् । तर, पञ्चाङ्ग समिति विहान म्हपूजा गर भन्छ । नेवाः समूदायले विहान म्हपूजा नै गर्दैनन् । नेवाः समूदायले भाइटिका पनि बेलुका नै लगाउने चलन छ।’

डाक्टर शाक्यले शरीर, मन र बचन शुद्ध होस भनी नेवाः समूदायले म्हपूजा मनाउने गरेको भन्दै नेवाः समुदायको संस्कार भएको पनि उल्लेख गरेका छन्। त्यसैले नयाँ वर्ष उत्सवका साथ मनाएपछि हामी बेलुका म्हपूजा गर्छौ,’ डाक्टर शाक्यले भने, ‘त्यसैले हाम्रो परम्परा अनुसार भाइटिका कात्तिक १३ मै हो, हामीलाई त्यो दिन विदा चाहिन्छ भनेर पटक–पटक भन्दै आएका छौँ। आज प्रधानमन्त्रीले सकारात्मक सन्देश दिनुभएको छ, खुशी छौँ ।’


प्रकाशन मिति–२०७६ साल कात्तिक ३ गते आइतवार ।