काठमाडौं। यस वर्षको भाइटीकाको साइत यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा निक्लेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो साइत निकालेको हो।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ।

कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ। काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ। कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ। यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्।

कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ। यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ। यसैदिन नेपाल संवत अनुसारको नयाँ बर्ष ११३९ प्रारम्भ हुने गर्दछ। नेपालको मौलिक अनि आफ्नो संवत नेपाल संवत नयाँ बर्ष मनाउने गरिन्छ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ। तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर पूजाआजा गरिने दिन नै तिहारको महत्वपूर्ण दिन भाइटीका हो।
प्रकाशन मिति–२०७५ साल कात्तिक १४ गते बुधवार ।