काठमाडौं। नेपालमा दिनानुदिन स्वास्थ्य उपचार ज्यादै महंगो बन्दैगएको छ। खर्च गरेअनुरुप पनि उपचार नपाउंदा हैरान बनिरहेको बर्तमान अवस्थामा नगद पांच रुपैयामा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नंबर १ स्थित नमोबुद्धमा रहेको ठ्राङ्गु फेन्दे क्लिनिकमा स्वास्थ्य जाँच सहित उपचार तथा औषधि पनि दिइने गरेको छ।

यस क्लिनिकमा विगत ३ बर्षदेखि अनवरत रुपमा नगद पाँच रुपैयामा उपचार गर्ने उपचारक भिक्षु स्वास्थ्यकर्मीको नाम वाङ्चुक राप्तेन लामा हो। २९ बर्षिय भिक्षु वाङ्चुक राप्तेन ‘ठ्राङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । यो क्लिनिक काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्जे गुम्बामा छ। जहाँवाट दैनिक ६० जनाले सरल, सहज र सुपथ ढंगवाट सेवा पाइरहेका छन् ।

बेलायती संस्था ‘वन योङ वल्र्ड’बाट वाङ्चुक राप्तेन नेपालको तर्फबाट युथ अम्बास्डर पनि हुन् । वाङ्चुक राप्तेनले थुप्रै अवार्ड र सम्मान पाएका छन् । पश्चिम नेपालको गोरखा जिल्लाको विकट गाउँ छेकम्पारमा जन्मिएका वाङ्चुक राप्तेन परिवारको माइला छोरा भएका कारण ७ वर्षको हुँदा परिवारले गाउँकै गुम्बामा पढ्न पठायो ।

त्यहाँ पढ्दा–पढ्दै थप लामा विद्या पढ्न विसं.२०५४ सालमा उनी बुबाको पछिपछि काठमाडौं आएका थिए। उनी बौद्धको थाङ्गु टासी थेलिङ गुम्बामा लामा पढ्न थाले । त्यहीबेला उनकी आमा फुर्बुबुटी लामाको जन्डिस रोगवाट थला परेर उपचार नपाइकन स्वर्गवास भयो। जसवाट प्रताडित वाङ्चुक राप्तेनलाई अत्यन्त पीडा भयो। आमा जस्ता हजारौ आमाहरुको उपचार गर्ने अठोट लिएर भिक्षुको शिक्षादिक्षा लिइरहेको अवस्थामा नै अहेब बनेर स्वास्थ्य उपचारमा लाग्ने प्रण गरे।

त्यसपछि गुम्बाभित्रै बसेर ‘नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी’ (निम्स) ग्वार्कोमा एचए पढ्न थाले । पढ्दा–पढ्दै उनले गाउँगाउँमा स्वास्थ्य शिविर चलाए । गुम्बामा बस्दा बनाएका विदेशी साथीहरूसँग सहयोग लिए । उनीहरूलाई नेपाल बोलाए । ती साथीहरूलाई लिएर गाउँगाउँमा स्वास्थ्य शिविर चलाए ।

निःशुल्क स्वास्थ्य शिविर चलाउँदै उनी गोरखा, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ पुगे । शिक्षाबाट वञ्चित मानिसहरूलाई आधारभूत स्वास्थ्य शिक्षा दिए । वाङ्चुक राप्तेनले विसं.२०७० मा एचए सकाएर स्वास्थ्य सेवामा आए। स्वास्थ्यकर्मी मात्र भएतापनि नमोबुद्धमा वाङ्चुक राप्तेनलाई डाक्टर साहेब नै भन्ने गरेको छ।

अरुबेला वाङ्चुक राप्तेन आफैले विरामीको उपचार गर्ने गरेतापनि हप्तामा एकदिन एमबीबीएस डाक्टर त्यहाँ बोलाएर विरामीहरुको उपचार गराउने कार्यमा निरन्तर लागिरहेका छन्। सवैको प्रिय डाक्टर साहेब वाङ्चुक राप्तेनले धेरैको रोग निदान गरेर राहत प्रदान गरिसकेका छन्।

अझै कयौंको उपचारमा अहोरात्र खटिरहेका वाङ्चुक राप्तेनसंग भिजन संसार डटकमले लिएको भिडियो अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ–

प्रकाशन मिति–२०७६ साल फागुन २२ गते विहीवार ।