काठमाडौं। लाखौं पाठकको प्रिय पत्रिका कामना मासिक यो बर्षको मंसीर १५ गतेवाट ३४ बर्ष पूरा भएर प्रकाशनको ३५ बर्षमा टेकेको छ। यस बर्षमा आयोजित चौथो संस्करणको कामना फिल्म अवार्ड कामना मासिकको जन्मदिनमा नै भव्य रुपमा संपन्न भएको हो।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भव्य रुपमा नेपाली चलचित्रका कलाकार तथा प्राविधिक सवैले एकसाथ ह्याप्पी बर्थडे कामना भनेर कामना फिल्म अवार्ड संपन्न गरेका छन्। अरु अवार्ड कार्यक्रमभन्दा फरक ढंग र फरक शैलीवाट प्रस्तुत गरिएको कामना फिल्म अवार्ड स्थलमा पहिलो पल्ट ड्रोन क्यामेरा पनि उडाइएको थियो।

नेपाली चलचित्रमा स्वभाविक अभिनय गरेर ख्याति कमाएका अभिनेता सरोज खनाल र नेपाली चलचित्रकै वान टेक आर्टिष्ट भनेर नाम कमाएकी अभिनेत्री गौरी मल्ल दुवैजनाले एकसाथ अत्यन्त सहज र सरस ढंगवाट अवार्ड कार्यक्रम संचालन गरिरहेको अवस्थामा उडाइएको ड्रोन क्यामेरातिर नै सवैको ध्यान गएको थियो।

ड्रोन क्यामेराको चर्को आवाज तथा हावाले सवैको नजर ड्रोन क्यामेरामा नै थियो। जसलेगर्दा सरोज खनाल र गौरी मल्लले गरेको उदघोषण कलामा बाधा उत्पन्न भएको थियो। नेपालको अवार्ड कार्यक्रममा पहिलो पल्ट उडाइएको ड्रोन क्यामेराले दोश्रो पल्ट उडान भरेर फर्कने क्रममा नराम्रोसंग दर्शकदीर्घा पछाडि दूर्घटना हुन पुगेको थियो। यो दूर्घटना अवार्ड कार्यक्रमको नमज्जाको पल थियो।

कार्यक्रमको ऐतिहासिक पलमा नेपालका ख्यातिप्राप्त हास्यअभिनेता व्द्य मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख सहितको कीर्तिमय दीर्घ सम्मान हो। त्यसको अलावा नेपाली संगीतको मेलोडी किङ शंभुजीत बाँस्कोटालाई पनि नगद १ लाख सहितकै अर्को कीर्तिमय दीर्घ सम्मान प्रदान गरिनु अर्को ऐतिहासिक पक्ष थियो।

कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको जमघट भएतापनि पुरानाको अगाडि नयाँ कलाकारहरुलाई खासैले चिनेनन्। पुरानै कलाकारसंग फोटो खिच्नेहरुको लर्को नै पाइयो। चौधरी ग्रुपको सीजी इन्टरटेन्टमेन्टसंगको सहकार्यमा गरिएको यस अवार्ड कार्यक्रममा कलाकारहरुकै कार्यक्रम प्रस्तुति अत्यन्त रोचक मानियो। नयाँ पुस्ताकी नायिका केकी अधिकारी र नायक प्रदीप खड्काको प्रस्तुतिलाई धेरैले रोचक मानियो।

अवार्ड कार्यक्रममा प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा अवार्ड प्रदान गरिएको थियो। अवार्ड समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र लीलीबीलीले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नवअभिनेत्री, पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक ५ विधाको अवार्ड चुमेको छ। १३ विधाको मनोनयनमा परेको चलचित्र कृबाट अनमोल केसीले यस वर्षको सर्वोत्कृष्ट अभिनेता तथा ब्लाइन्ड रक्सबाट वेनिषा हमालले अभिनेत्रीको अवार्ड चमेका छन् । कृले ३ विधाको अवार्डलाई आप्mनो बनाएको छ।

त्यस्तै १५ विधाको मनोनयनमा परेको छक्का पञ्जा २ बाट वर्षा राउत सर्वोत्कृष्ट सह अभिनेत्री ठहरिइन् भने ग्याङ्स्टार ब्लुजबाट आशिरमान देशरमज जोशी श्रेष्ठ नवअभिनेताको अवार्ड विजेता बने। ४ विधाको मनोनयनमा परेको चलचित्र दुई रुपियाबाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड चुमे।

यस पटक जुरी अवार्ड फिल्म भुईंमान्छेलाई प्रदान गरियो भने अभिनेताद्धय सुनिल थापा र रमेश बुढाथोकीलाई स्पेशल मेन्शन अवार्डबाट पुरस्कृत गरिएको छ। सिजी क्रिटिक्स अवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा र रगंमञ्चतर्फ वीरेन्द्र हमाललाई प्रदान गरियो।


प्रकाशन मिति–२०७५ साल मंसीर १६ गते आइतवार ।