काठमाडौं। काठमाडौं महानगरको मुहारलाई उज्यालो अनि यसको स्वरुपलाई जीवन्त बनाउने कार्यमा काठमाडौं महानगरपालिका शहरी योजना आयोग अहोरात्र कार्यरत रहेको छ।

काठमाडौं महानगरका मुहार अनि स्वरुपलाई जीवन्त पार्न चित्रांकरण गर्ने कार्यमा लागिरहेको काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विदेशिन खोज्ने दक्ष नेपाली युवा जनशक्तिलाई उचित स्थान दिएर उनीहरुको लागि स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्य गरेको छ।

पहिलो ६ महिनामा इञ्जिनियरिङ क्षेत्रका १६ जना सिभिल,आर्टिटेक तथा इलेक्ट्रिीकलतिरका फ्रेस युवा इञ्जिनियरहरुलाई दक्ष बनाउन थप प्राविधिक तथा व्यावहारिक ज्ञान दिने कार्य भएको छ। ज्ञानको साथमा मासिक पारिश्रमिक दिएर दक्ष युवा इञ्जिनियरिङ शक्तिलाई विदेश पलायन हुनवाट रोक्ने कार्य काठमाडौं महानगरपालिका शहरी योजना आयोगवाट भएको छ।  उनीहरुलाई उचित मार्गदर्शन दिएर उनीहरुवाट हाम्रो काठमाडौं हामी बनाउंछौ अभियान अन्तर्गत काठमाडौं महानगरका विभिन्न स्थानका रुपांकरण तथा नक्सांकरण गर्ने कार्य पनि भएको छ।

ऐतिहासिक तथा पुरातत्विक महत्वको अत्यन्त प्राचिन शहर काठमाडौंलाई जीवन्त बनाउने कार्यमा करियर क्याम्प अन्तर्गत युवा जनशक्तिलाई दक्ष बनाउने कार्य भएको जिकिर शहरीविद तथा काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतको रहेको छ।

सदस्य सचिव बस्नेतका अनुसार, पहिलो चरणको करियर क्याम्पवाट दक्ष १६ जना युवा इञ्जिनियरहरु उत्पादन भएको छ। हाल दोश्रो चरणको करियर क्याम्पवाट पनि १६ जना युवा इञ्जिनियरहरुले प्राविधिक तथा व्यावहारिक ज्ञान हासिल गर्दैछन्। पहिलो चरणको करियर क्याम्पवाट सर्वोत्कृष्ट बनेका तीनजनालाई पुरस्कार तथा वाँकी सवैलाई श्रीपञ्चमीका दिन प्रमाण–पत्र वितरण गर्ने कार्य भएको छ।

करियर क्याम्प निक्कै उपलव्धीमूलक भएको काठमाडौं महानगरपालिकाका मेयर तथा शहरी योजना आयोगका अध्यक्ष विद्यासुन्दर शाक्यको ठहर रहेको छ। यस करियर क्याम्पले इञ्जिनियरिङ अध्ययन संपन्न गरेर अलमलिरहेकाहरुको लागि सही मार्गनिर्देशन दिएर उनीहरुलाई स्वदेशमा नै रोजगारीको लागि प्रोत्साहित गर्ने कार्य भएको मेयर शाक्यको दावी रहेको छ।


प्रकाशन मिति–२०७५ साल माघ २८ गते सोमवार ।