काठमाडौं। नेपाली गीत–संगीतको क्षेत्रमा अनुपम सांगीतिक कोसेलीको रुपमा रहेको गीत कता हिडेको कसलाई खोजेको बोलको गीत आज पनि त्यतिकै समय सान्दर्भिक रहेको छ। यो गीतको भिडियो एक दशक अगाडि अत्यन्त सुपरहिट भएको हो।

जुन भिडियो हेर्ने दर्शकहरुको आँखामा केवल यस गीतको भिडियोका दुई जोडदार पात्र निशा अधिकारी र सन्तोष सिलवाल गिरीको तस्वीर मात्र आउने गर्दछ। कतिले त गीतको भिडियोमा अभिनय गरेर गीत गाउने निशा अधिकारी नै गायिका हो भन्ने ठोकुवा गर्नेहरु छन्। यथार्थमा यस गीतका गायिका नायिका निशा अधिकारी नभइकन आभा मुकारुङ हुन।

गीतको भिडियोमा नदेखिएका कारण गायिका आभा मुकारुङलाई खासैले चिन्न नसकेको यस गीतका संगीतकार राजु सिंहले भिजन संसार डटकमलाई बताएका छन्। गायिकालाई नचिनेजस्तै गीत सुपरहिट भैसक्दा पनि कतिले यस गीतका संगीतकार राजु सिंह भनेर थाहा नपाएको त्यो पल र क्षणलाई भिडियोको क्रेज भन्न संगीतकार सिंह रुचाउंछन्।

रामकृष्ण बान्तवाको शव्द–रचना रहेको यस गीतको संगीत संयोजन अमुल कार्की ढलीले गरेका हुनभने, किशोर थापाव्दारा रेकर्डिङ र दीप तुलाधरले मिक्सिङ गरेको जानकारी दिदै संगीतकार सिंहले यो गीतको तत्कालिन कमलादी स्थित सिम्फोनिक स्टुडियोमा रेकर्डिङ भएको बताएका छन्।

गीत तयार भैसकेपछि भिडियो बनाउन भिडियो निर्देशक भुषण दाहाललाई दिएको कैयन दिन वितिसक्दा पनि छायाँकन नभएपछि एकदिन संगीतकार राजु सिंहले भुषण दाहाललाई फोन गरेका थिए। फोन निर्देशक दाहालकी पत्नी कोहिनूर दाहालले उठाएपछि आफूले भिडियो बनाउन गीत दिएको तर, हालसम्म नबनेको भनेपछि कोहिनूर भाउजुको जोडबलले भिडियो बनेकोसंगीतकार सिंहको भनाई रहेको छ।

त्यो बेला भिडियो निर्माण तथा निर्देशन गर्नमा अत्यन्त महंगा र व्यस्त निर्देशक दाहालले भाउजुले सम्झाएपछि बनाइदिएको कता हिडेको कसलाई खोजेको गीतको भिडियो गजबले सुपरहिट नै बनेको यथार्थता संगीतकार सिंहले भनेका छन्। गीतको भिडियोमा जति गर्दापनि गायिकाको लिपसिङ राख्न खोजिएतापनि नमिलेपछि निशा अधिकारीलाई नै गाउन लगाइएको खुलासा पनि संगीतकार सिंहले गरेका छन्।

त्यो बेला भर्खर मात्र मोडलिङ लाइनमा आएकी नायिका निशा अधिकारीको लागि पनि यो गीतको भिडियो टर्निङ प्वाइन्ट नै बनेको हो। निशा अधिकारीका लागि यो गीतले अभिनयको शिखरमा पुर्याउन ज्यादै महत्वपूर्ण भूमिका खेलेको स्वयम् नायिका अधिकारी पनि स्वीकार्छिन्।

समयले शिखरमा पुर्याएको कता हिडेको कसलाई खोजेको गीत साँच्चै भन्ने हो भने कालजयी गीत नै बनेको छ। अविस्मरणीय भिडियो नै भएको छ।

प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।