काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते शनिवार गएको शक्तिशाली महाभूकम्पमा परेर ज्यान गुमाउने ज्ञात–अज्ञात सवैको संझनामा स्मृति सभा कार्यक्रमको आयोजना गरियो। काठमाडौं महानगरपालिका र राष्ट्रिय पुननिर्माण प्राधिकरणको संयुक्त आयोजनामा काठमाडौंको बसन्तपुरमा स्मृति सभा भएको हो।

स्मृति सभामा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले महाभूकम्पले गरेको विनाशको उल्लेख गर्दै महाभूकम्पमा परेर ज्यान गुमाउनेहरुको नाममा श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्मृति सभा पश्चात प्रधानमन्त्री केपी शर्मा पत्नी राधिका शाक्यका साथमा बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा महाभूकम्पले ध्वंस्त बनाएका सम्पदाहरुको निरीक्षण तथा अवलोकन गर्ने कार्य गरेका थिए। अवलोकन तथा निरीक्षणका क्रममा काठमाडौं महानगरको गौरब तथा शानका रुपमा लिइएको काष्ठमण्डप पूर्नरनिर्माणको बडो अभिरुचिपूर्वक अवलोकन गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीवाट भएको थियो।

काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक तथा लोकप्रिय प्रदेश सांसद राजेश शाक्यले पूर्नरनिर्माणको प्रगति विवरणको जानकारी प्रधानमन्त्री ओलीलाई दिएका थिए। संयोजक शाक्यको जानकारीवाट प्रधानमन्त्री ओली संतुष्ट देखिएका थिए। अझ काष्ठमण्डपमा पाँचौ शताव्दीकै काठको प्रयोग गर्न मिलेको कुरावाट आश्चर्य मिश्रित खुशी भएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

पाँचौ शताव्दीको काठ आजपनि प्रयोग हुन सक्ने अवस्थामा रहेको र उपयोग भएको पाउंदा आश्चर्यमिश्रित खुशी लागेको भन्दै हाम्रा पुर्खाहरु महान छन् र हाम्रा सम्पदा अमूल्य छन भनेका छन्। प्रधानमन्त्री ओलीले काष्ठमण्डपलाई विशेष प्राथमिकतापूर्वक अवलोकन गरेका थिए। काष्ठमण्डप पूर्नरनिर्माणमा प्रयोग भएका मिहिन भन्दा मिहिन सामाग्री देखि पाँचौ शताव्दीको काष्ठकलाको समेत जानकारी संयोजक शाक्यसंग लिएका थिए।

काष्ठमण्डपको पूर्नरनिर्माण काठमाडौं महानगरपालिकाले कुनैपनि दातृराष्ट्रसंग एक सुक्का पनि सहयोग नलिइकन आफ्नै स्रोत तथा साधनवाट भैरहेको जानकारी काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले दिएका छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख १२ गते विहीवार ।