काठमाडौ। यो बर्ष बुद्ध जयन्तीकै दिन किराँत समुदायको महान पर्व साकेला उभौली पर्व परेको छ। यस अवसरमा सोमबार किराँत समुदायले यो पर्वलाई धुमधामसंग मनाएको छ।

‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायले साकेला उभौली पर्व मनाएको हो। भूमि, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने कार्य भएको छ। यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरको नखीपोटमा कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाएको छ।

काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर गजबै रमाइलो गरेका छन् ।अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकुतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समूदायका अगुवाहरु बताउँछन्।


प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।