काठमाडौं। यो जाडो महिनामा बेलाबखत दिनमा केही मिनेट भएपनि विजुली जाने गरेको छ। लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन नेपाल विद्युत प्राधिकरणले आक्रमक रुपमा सुधार गर्न थालेको छ । यसवर्ष मात्रै २ हजार ट्रान्सर्फमर प्राधिकरणले फेरिसकेको छ ।

विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार यो वर्ष मात्रै देशभर ५ हजार ट्रान्सर्फमर थप्दैछ । एक वर्ष भित्र १० हजार ट्रान्सर्फमर थप्ने तयारी रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

नेपाल विद्युत प्राधिकरणले कुल गरेर १४ हजार नयाँ ट्रान्सर्फमर ल्याउँदैछ । बिग्रिएका पुराना ट्रान्सर्फमर पनि मर्मत गरेर चलाउने गरिएको छ । जाडोमा स्थानीय क्षेत्रमा लोड बढ्छ । धान्न नसकेपछि सो क्षेत्रको ट्रान्सर्फमर पड्कन्छन्। माग धेरै भएका ठाउँमा ठूला क्षमताका ट्रान्सर्फमरहरु राख्ने कार्य भैरहेको पनि घिसिङले बताएका छन्।

उनका अनुसार पछिल्ला दिनमा विभिन्न क्षेत्रमा ट्रान्सर्फमर फेर्ने काम तीव्र पारिएको छ । ट्रान्सर्फमर चेञ्ज गर्ने कार्यका लागि केही समय बिजुली काट्ने गरिएकाले यसलाई सकारात्मक रुपमा सहयोग गर्न घिसिङको अनुरोध रहेको छ।
प्रकाशन मिति–२०७५ साल पुस २५ गते बुधवार ।