काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरेका छन् । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै कार्यकारी निर्देशक घिसिङले असन्तुष्टि जनाएका हुन्।

गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो। सोमबार रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले गलाअवरुद्ध पार्दै भने, ‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मूल्याकंन गरेर ६ लाख दिएको हो।’

वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको घिसिङले प्रष्टाए। घिसिङले भने, ‘मैले करबाहेक ६ लाख बुझेको रहेछु। गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, नेपाल विद्युत प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ।’

आफ्नोविरुद्ध खेल गर्नेहरुसँग नेपाल विद्युत प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको घिसिङको दाबी रहेको छ। प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको घिसिङको भनाइ छ। ‘छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु’, घिसिङले भने।

विगतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको घिसिङले खुलासा गरेका छन्।
प्रकाशन मिति–२०७५ साल चैत्र २५ गते सोमवार ।