ललितपुर। कुहिने र नकुहिने फोहर मात्र छुट्याउन सकेपनि त्यो फोहरलाई मोहर वनाउन सकिन्छ। अनि शहरलाई सुन्दर वनाउन सकिन्छ। यही अवधारणा अनुरुप ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित शुभारम्भ महिला समूहले कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गर्न र गराउनका लागि रातो र हरियो बाल्टिन निःशुल्क वितरण गर्ने कार्य भएको छ।

५० घर–परिवारका महिला दिदीबहिनीहरुलाई ती बाल्टिन वितरण गरेर जनचेतना बढाउने कार्य भएको हो। कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले प्रमुख अतिथिको आसनवाट महिला दिदीबहिनीहरुलाई ती बाल्टिन वितरण गरेका हुन्।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थित रुपमा राख्न वितरण गरिएको रातो र हरिया बाल्टिन प्रतिकात्मक मात्र भएतापनि यसले धेरै जनचेतना अभिबृद्धि गराएको ठहर वडा अध्यक्ष श्रेष्ठको छ। वडा अध्यक्ष श्रेष्ठले यस जनचेतनामूलक कार्यले शहरी सुन्दरता अभिबृद्धि गर्न तथा फोहरवाट मोहर बनाउने आयमूलक कार्यलाई टेवा दिने विश्वास व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर १३ गते शनिवार ।