काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रबार १०० दिन पूरा गरेको छ। यस अवधिमा सरकारका तर्फबाट धेरै प्रतिबद्धताहरु आएका छन्। त्यसको कार्यान्वयन हुनुपर्ने अपेक्षा राखेका छन्।

विसं.२०१५ सालपछि भारी मतसहित बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति सर्वसाधारणका अपेक्षा पनि ओलीको भारी बहुमतभन्दा कम छैन्। १०० दिन पार गर्दै गरेको सरकारले जनतालाई थुप्रै आशा देखाएको छ। नीति तथा कार्यक्रममार्फत् सरकारले निकै ठूला आशा र सम्भावनाहरु अघि सारेको छ।

सरकारले ती सपनाहरुलाई व्यवहारमा उतार्ने र विस्तारै कामले गति लिने अपेक्षा पनि जनताले गरेका छन्। ओली सरकारको हनिमुन अवधिमै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ। स्थीर सरकार र विकास निर्माणका लागि शक्तिशाली पार्टी बन्नुलाई पनि सर्वसाधारणले सकारात्मकरुपमा लिएका छन्।

समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा अघि सारेको ओली सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अन्त्यका लागि केही प्रयासहरु पनि गरेको छ। त्यस्तै, सुन तस्करीको घटनाको छानबिनलाई पनि सरकारले अहिलेसम्म सशक्त ढंगबाट जारी राखेको छ। यसको पटाक्षेप कसरी हुन्छ भन्नेतर्फ पनि जनताको चासो उत्तिकै रहेको छ।

सरकारले १०० दिनका अवधिमा सर्वसाधारणको राहतका पक्षमा भने महसुस हुनेगरी काम नगरेको गुनासो पनि जनताको छ । शिक्षा, स्वास्थ्य क्षेत्रको कमिसनखोरी अन्त्यका लागि कुनै काम नहुनु, खानेपानीको समस्या ज्यूँका त्यूँ रहनु, सडकको दूरावस्थामा कत्तिपनि सुधार नहुनु, बिचौलियातन्त्र अन्त्य गरी महँगी नियन्त्रणको काम नहुँदा सरकार ठूला कुरामात्रै गरेर जनताका दैनिक सरोकारका विषयबाट टाढिन खोजेको जस्तो आरोप पनि नेपाली जनताको रहेको छ।

१०० दिन पार गरेको ओली नेतृत्वको सरकारले स्थिर रुपमा पाँच बर्ष राम्रोसंग चलाएर अघि बढ्ेमा समृद्ध नेपाल बन्ने निश्चित नै देखिन्छ।


प्रकाशन मिति–२०७५ साल जेठ ११ गते शुक्रबार ।