काठमाडौं। नेपाल वाहिर बेलायतवाट निर्माण भएको नेपाली कथानक चलचित्र कैदीको पत्रको मनमोहक गीतको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि मात्र स्कटल्याण्डको एडिनवर्गमा हाउसफूलका साथ फस्ट रिलिज भएको चलचित्र कैदीको पत्रको मनमोहक गीत विश्वव्यापी रिलिज भएको हो।

दिलको तालमा वोलको मनमोहक गीतको भिडियो भिजन संसार प्लस युट्युब च्यानलवाट विश्वव्यापी रिलिज भएको छ। जसमा नेपाली नायक कुनाल विश्व र स्कटल्याण्डकी चर्चित नायिका म्याडिसन लाजारसको प्रेममय मनमोहक अभिनय रहेको छ। स्कटल्याण्डको प्राकृतिक मनोरम दृश्यमा खिचिएको गीतमा गायिका सुबानी मोक्तान र गायक प्रताप दासको गायन रहेको छ। शव्द रचना निर्देशक सनम कुमार बैरागको छ। त्यस्तै संगीत सुरेश सेन्चुरीको रहेको छ।

नेपाली गीतमा अंग्रेजी गायन पनि रहेको यो गीतमा नेपाली नायकले नेपालीमा गाउने र त्यसको प्रत्युतर विदेशी नायिकाले अंग्रेजीमा दिएको मिठासपूर्ण गायनको समिश्रण यस गीतको भिडियोमा रहेको छ।

ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली चलचित्र कैदीको पत्रको निर्देशन बेलायतमा नै रहेको ख्यातिप्राप्त निर्देशक सनम कुमार बैरागको रहेको छ।

चाँडै नै नेपालमा पनि रिलिज हुन गैरहेको चलचित्र कैदीको पत्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

प्रकाशन मिति–२०७९ साल असोज २ गते आइतवार ।