काठमाडौं। कोभिड–१९ को कारण दुई बर्षयता थला नै परेको नेपाली चलचित्र उद्योग बल्ल उठ्ने क्रममा रहेको छ। चलचित्र हलमा गएर नेपाली चलचित्र हेर्ने ट्रेण्ड नै गयो र अव चलचित्र चलाउन नसकिने भयो भनेर निराशावादी अनेक कुराहरु आइरहेको वर्तमान समयमा गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले यी सवै भ्रमलाई तोड्न सफल भएको छ।

कोरोना कहरको चर्को मारमा परेको नेपाली चलचित्र उद्योगमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले नयाँ आशाको किरण ल्याइदिएको छ। यसको कसी अर्थात मापदण्डको रुपमा शुक्रबारबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले शुक्रवार र शनिवार दुई दिनमा १ करोड ८० लाख रुपैयाँको कमाइ गरेको रिपोर्टले प्रमाणित गरेको छ।

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले बताएकी छन्।

सुर्दशन थापाद्वारा निर्देशित चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भुमिका रहेको छ । निर्देशक थापा र नायिका शर्माको संयुक्त लगानीमा बनेको चलचित्रमा स्वयं थापाकै कथा छ । चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी र सोकिका रोकाया लगायतका कलाकारको अभिनय छ।

प्रकाशन मिति–२०७८ साल फागुन १७ गते मंगलवार ।