काठमाडौं। कोरोनाको कहरमा कोरोना संक्रमण निर्मूल गर्नतिर व्यापक रुपमा लाग्नुपर्ने वर्तमान अवस्थामा नेपाली राजनीतिमा भने बेमौसमको बाजा बजिरहेको छ। दुई अध्यादेशको जारी र फिर्ता दुवै घटना तथा सांसद अपहरण जस्ता घटनाले व्यापक तरलतामा आएको राजनीतिमा केपी शर्मा ओली नेतृत्वको सरकार खतराको जोनमा परेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ विकल्प पार्टीमा पेश गरेका छन्।

आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष ओलीले तेस्रो विकल्पका लागि नयाँ प्रस्ताव पेश गरेका हुन। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ।

त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले राखेका छन्। पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरियताका नेता नेपाललाई अध्यक्ष बनाउन तयार रहेको ओलीले बताएका हुन् । गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधानसम्म पनि संशोधन गर्न आफू तयार भएको उनले बताएका थिए । त्यसका लागि गौतमलाई राष्ट्रिय सभामा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न आफू तयार भएको बताएको स्रोतको दावी छ।

त्यस गर्न नसकिए कुनै क्षेत्र खाली गराएर त्यहाँ निर्वाचन लडाएर भए पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले राखेको बताइएको छ । पूर्वएमाले एकै ठाउँमा रहनुपर्ने भन्दै ओली पक्षीय नेताहरुले नेपाल र गौतमलाई यसअघि पनि यो विकल्पमा जान सकिने सुझाएका थिए। तर ओलीको यस प्रस्तावलाई अरु नेताले खासै महत्व नदिएको दावी गरिएको छ । ओलीको प्रस्तावले समाधान दिन गाह्रो हुने बुझाई अरु नेताको छ।

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संविधान संशोधनसँग सम्बन्धित रहेको र आफूसँग दुई तिहाई नभएको अवस्थामा यो सम्भव नभएको नेताहरुको भनाइ थियो । तेस्रो अध्यक्षमा नेपाललाई ल्याउँदा वरियतामा माथि रहेका अर्का नेता झलनाथ खनाललाई मनाउनुपर्ने देखिन्छ । ओलीको यो प्रस्तावले पूर्व एमालेहरु एक हुने जस्तो संकेत देखिएको छ। अर्कोतर्फ पूर्व माओवादीहरु पाखा लाग्ने जस्तो पनि भएको छ।

यद्यपि, व्यापक तरलतामा रहेको नेपाली राजनीतिमा जे पनि हुने निश्कर्ष नेपाली राजनीतिक विश्लेषकहरुको रहेको छ। कतिपय विश्लेषकहरुले कोरोनाको कहरमा अनावश्यक टाइम पास गरिरहेको ठहर पनि रहेको छ। यतिखेर सत्ता समिकरणको खेल आवश्यक नभइकन कोरोनाको कहरलाई ठीक पार्नतर्फ नलागिकन राजनेता बन्न लायक नेताहरु टाइमपास गरेर नेपाली जनतामाझ गिरिरहेको टिप्पणी देखिएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख १८ गते विहीवार ।