काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को वर्तमान कहरमा नेपाली चलचित्रका कलाकारहरुवीचको जहरका कारण माहोल तातिएको छ। कलाकारहरुवीच आरोप–प्रत्यारोपका कारण बल्झेको तातिएको माहोलका विषयमा नेपाली चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको संघका अध्यक्ष रविन्द्र खड्काले जारी विज्ञप्तिमा उल्लेख भएको छ।

केही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको विज्ञप्तिमा उल्लेख भएको हो।

नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरुको वर्गिय हक हितका साथै चलचित्रको संरक्षण सम्वद्र्धनमा स्थापना भएको संस्था भएको उल्लेख गर्दै नेपाल चलचित्र कलाकार संघ स्थापना कालदेखि नै कलाकारहरुको उत्थान, हित र चलचित्रको प्रवद्र्धनमा क्रियाशिल रहेको भनिएको छ । संघको जानकारीमा आएका र निवेदन परेका कलाकारका विभिन्न समस्यालाई संघले संवोधन गर्दै सामाधान गर्दै आइरहेको पनि भनिएको छ ।

कोरोनाभाइरस (कोभिड–१९)को महामारी प्रारम्भ भएदेखि सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प भएको छ। लकडाउनको अवधिमा विभिन्न श्रोतबाट विभिन्न समस्याग्रस्त कलाकारहरुलाई राहत उपलब्ध गराएको भनिएको छ। हाल केही चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप सन्दर्भमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरुसंग संघले सम्पर्क गरेको भनिएको छ । वार्ताद्वारा समस्या समाधान गर्न आव्हान पनि गरेको छ। कतिपयले संघको कार्यालयमा आएर जानकारी पनि गराएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरेर, वर्तमानमा निस्किएका आक्षेप एवं समस्या पटाक्षेप र समाधान गर्न संघ क्रियाशिल रहेको तथा लकडाउनका कारणबाट उत्पन्न समस्या एवं पारिश्रमिकका कुरा लगायतका अन्य विवादहरुलाई समाधान गर्न र गराउन संघ क्रियाशील रहेको भनिएको छ।

विशेषत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै सुपरस्टार नायक तथा निर्माता भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा उजुरी दिएपछि संघले उक्त विज्ञप्ति जारी गरिएको खुल्न आएको छ।  केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै सुपरस्टार नायक भुवन केसीले बिहीबार संघमा  निवदेन दिइ छानबिनको माग पनि गरेका छन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवन केसीले दाबी गरेका छन् । नायक भुवन केसीव्दारा नै निर्माण गरेको चलचित्र ड्रिम्सवाट डेब्यु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपर आफूले कुनै किसिमको दुर्व्यवहार नगरेको निवेदनमा भुवन केसीले उल्लेख गरेका छन्।

बिहीबार नै नायक केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी ‍हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका छन्।। केसीले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन्।

यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक  गर्दै नायक तथा निर्माता भुवन केसीले आफूलाई  दुर्व्यवहार गरेको खुलेर आरोप लगाएकी थिइन्। जुन भाइरल नै बनेको छ।

प्रकाशन मिति–२०७७ साल असार १८ गते विहीवार ।