काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा काठमाडौं उपत्यका ग्रीनजोन नै मानिएको भएतापनि असार १ गतेवाट लकडाउन खुकुलो गरेपछि देश तथा विदेशवाट काठमाडौं उपत्यकामा आउनेहरुको संख्यामा बृद्धि भएको छ। जसको कारण ग्रीनजोन मानिएको काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितहरुको दिनानुदिन बृद्धि हुन थालेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विहीवार भनेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ पुरुष, ललितपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै विहीवार उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकाको आँकडा सहित बिहीवार देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, पहिलो पटक वाग्मती प्रदेशका सबै जिल्लामा एकै साथ संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४७३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १०९ महिला र ३६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले वताएका छन्।

योसँगै नेपालमा एक हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष गरी १४ हजार ५१९ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा संक्रमितमध्ये ५ हजार ३२० जना निको भएर घर फर्किएका छन्।


प्रकाशन मिति–२०७७ साल असार १८ गते विहीवार ।