–श्याम स्मृत
ललितपुर । कोरोनाको वर्तमान विषम कहरमा नर्सको जागिर त्यति सहज र सरल छैन्। स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने नर्सको जिन्दगी वास्तवमा भन्ने हो भने, डाक्टरको भन्दा बढी खतरा छ।

अस्पतालमा भर्ना भएका विरामीलाई नजिकवाट स्याहार गर्नुपर्ने अनि डाक्टरजतिकै दौडधुप गरेर स्वास्थ्य सेवा दिने कार्य कोरोनाको कहरमा अत्यासलाग्दो हुनु स्वभाविक हो। त्यसमाथि, डाक्टर नभएको कतिपय ठाउंमा त नर्सले नै डाक्टरको सेवा दिने कार्य भैरहेको छ।

यो स्वभाविकतामा पनि विश्वभर कार्यरत लाखौं लाख नर्सहरु जिन्दगीलाई हत्केलामा राखेर सेवारत रहेका छन्। यसअर्थमा यो विषम परिस्थितिलाई मूल्यांकन गर्दा नर्सिङ पेशा विश्वका नोबल जब मध्येको एक महान जब हो। कोरोनाको कहरमा स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनमा काम गर्ने कतिपय नर्सहरुलाई नेपालमा पनि कोरोनाको संक्रमणले छोइसकेको अवस्थामा नर्स पेशा कठोर मात्र नभइकन ज्यादै कठिन बनिरहेको छ।

कोरोना कहरको र्तमान विषम परिस्थितिमा कठिन र कठोर पेशा अपनाउने महान नर्सहरुको प्रतिनिधित्व गर्ने एक नेपाली नर्सको नाम हो–अभिरुचि बुढाथोकी ! ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा कार्यरत अभिरुचिको अनुभवमा नर्सको जिन्दगीको यो कोरोनाको कहरमा हरपल कठिन रहेको छ।

त्यो कठिनतामा पनि कर्तव्य महत्वपूर्ण हो भन्ने अभिरुचिको ड्युटी पाटन अस्पतालको प्रसुति विभागमा रहेको छ। लकडाउनको अवस्थामा बच्चा जन्माउन आउने महिलाहरुको पिडा अनि छटपटाहट देख्दा जिन्दगी जन्माउन कति कठिन हुन्छ अनि यही जिन्दगी कोरोनाले कति धेरै गंभीरतामा पु-याउने गरेको भन्ने दुवै यथार्थता हरदिन आफूले देखिरहेको अभिरुचिको भनाई छ।

त्यो कठोरता अनि कठिनतालाई पनि आत्मसात गरेर नर्सको जिन्दगीमा रमाइरहेकी अभिरुचि यो आफूहरुको स्वभाविकता हो भन्छिन्। सुरक्षाका सवै कवच अपनाएर ड्युटी गर्दापनि ड्युटी सकेर घर जान पनि डर लाग्ने र संक्रमण पो हुने हो कि भन्ने भित्रभित्रै आशंका हरेक नर्समा हुने गरेको तथ्यलाई उजागार गर्दै पूर्ण स्यानिटाइजरिङ गरेर मात्र घरभित्र प्रवेश गर्ने गरेको अभिरुचिले बताएकी छन्।

सात वर्ष लामो नर्सको करियरमा धेरै जिन्दगी देखेको र धेरैको मृत्यु पनि देखिसकेको बताउने अभिरुचिले पाटन अस्पतालमा पोस्टिङ भएदेखि प्रसुति वार्डमा नै कार्य गरिरहेकी छन्। प्रसुति वार्डमा हरेक पल्ट हरेक क्षण छटपटाइरहेका आमाहरुको त्यो पीडा अनि सन्तान पाएपछिको त्यो सवै पीडा खुशीमा परिणत हुने क्षणले आफूलाई साह्रै गर्ब महशुश हुने गरेको अभिरुचिले भनेकी छन्।

हालसम्म ४ हजार ८ सयभन्दा बढीको प्रसुति गराइसकेकी अभिरुचिले यो कोरोनाको कहरमा जारी लकडाउनले गर्दा विपदमा परेका विपन्न वर्गका परिवारलाई राहत सहयोग दिने कार्य पनि गरेकी छन्। कीर्तिपुरको चोभार ६ विपन्न परिवारलाई तलव आएको दिन यसै महिना मात्र राहत सहयोग गर्ने अर्को महान कार्य गरेकी छन्। जुन अनुपम सामाजिक कार्य हो।

चलचित्र चित्कारमा बाल कलाकार बनेर सानो उमेरमा नै कलाकारिता गरेकी अभिरुचिले विभिन्न गीतका भिडियोमा पनि मोडलिङ गरिसकेकी छन्। एक्सन नामक ठूलो पर्दाको चलचित्रमा आइटम डान्स गरेकी छन्। चलचित्र तथा मोडलिङ नर्सिङ पछिको अर्को रुचिको विषय भएको पनि अभिरुचिले बताएकी छन्।


तस्वीर सौजन्य–कविन्द्रमान शाक्य र शिवलाल श्रेष्ठ
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल जेठ २१ गते बुधवार ।