काठमाडौं। कोरोनाको त्रास देखाएर स्कुल तथा कलेजलाई अनावश्यक रुपमा बन्द गर्न र गराउन खोज्नु आवश्यक नभएको सरोकारवालाहरुको जिकिर रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललय सोमवार आयोजना गरेको छलफल उपस्थित सरोकारवालाहरुले विद्यालय बन्द नगर्न सुझाव दिएको हो।

कोभिड–१९ संक्रमण उच्च भएको अवस्थामा राजनीतिक नेतृत्वहरुले जुलुस निकाल्दा कोभिड नलाग्ने तर स्वास्थ्य मापदण्ड अपनाइ पढाइलाई निरन्तरता दिदा विद्यालय बन्द गर्नुपर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने ठहर एन प्याब्सनका महासचिव सुभाष न्यौपानेको रहेको छ। हल्लाको भरमा विद्यालय बन्द गर्न नहुने जिकिर महासचिव न्यौपानेले गरेका छन्।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एकठाउँमा कोभिड संक्रमणको जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यवहारिक नहुने बताए । उनले जुन ठाउँमा प्रभाव परेको छ त्यहीँको स्थानीय सरकारलाई बन्द गर्ने निर्णय गर्न दिनुपर्ने बताए । उनले भने, ‘अब यो समस्याको समाधान गर्ने हो भने स्थानीय सरकारहरुलाई नै यसको अधिकार दिनुपर्छ । माथिबाट निर्णय गर्ने कुरा पूर्णरुपमा छोड्नुपर्छ।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्णबहादुर थापाले विद्यालय बन्द गर्ने हो भने बालबालिकाको सिकाइ र सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताए। सरकारले विद्यार्थीको सिकाइको सुनिश्चितता गर्ने कुनै पनि योजना निर्माण गर्न नसकेको पनि उनले बताए।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले केन्द्रिकृत ढंगले सबै शिक्षणसंस्था एकसाथ बन्द गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। छलफलमा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द गर्नेभन्दा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम थपलियाले भने छलफलमा उठेका विषय र सुझावलाई निर्णय गर्दा ध्यान दिइने बताए।


प्रकाशन मिति–२०७७ साल चैत्र ३० गते सोमवार ।