काठमाडौं। नेपालको अपोजिसन पार्टी नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन थाल्ने बताएका हुन् ।

कांग्रेसले गठन गरेको कोभिड– १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि देउवाले दशैंलगत्तै संसदभित्र र बाहिर देशभर सशक्त आन्दोलन गर्ने बताएका छन्। कोभिड– १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको देउवाको आरोप छ।

सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको देउवाको दाबी छ। औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको, तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको देउवाको जिकिर रहेको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक १ गते शनिवार ।