काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकताको महत्वलाई मध्यनजर गरेर आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्वयम्भुस्थित बुद्धपार्क चोकमा शनिवार आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको हो।

फाजु ट्रेड लिंक र श्रीशक्ति समूहको संयुक्त आयोजनामा भएको आकस्मिक विशेष रक्तदान कार्यक्रममा कोरोना महामारीको विषम परिस्थितिमा पनि स्वयंसेवी रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो। ४५ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको जानकारी आयोजक फाजु ट्रेड लिंक र श्रीशक्ति समूहका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले दिएका छन्।

अध्यक्ष श्रेष्ठले कोभिड–१९ को कारण रगत तथा रक्ततत्वको आवश्यकतालाई मध्यनजर गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष आकस्मिक रक्तदान कार्यक्रम राखेको वताएका छन्। कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७८ साल जेठ २३ गते आइतवार ।