काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद् गरेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रदद् गरिएको बताएका छन्।

प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेको भएतापनि १० प्रतिशत मात्रै सामान आएको बताउंदै महानिर्देशक श्रेष्ठले बाँकी सामान आउने कुनै छाँटकाँट नभएपछि ओम्नीसँग गरेको सम्झौता रदद् गरिएको खुलासा गरेका छन्।

महानिर्देशक श्रेष्ठले ओम्नीले राखेको ५ करोडको धरौटी जफत गर्ने र त्यस कंपनीलाई कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढ्सिकेको पनि भनेका छन्। बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुनः प्रक्रिया अगाडि बढाइने महानिर्देशक श्रेष्ठले बताए।

नेपाल सरकारले ललितपुरमा रहेको ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको थियो। सरकारले नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री ग्वान्जाउबाट आइतबार काठमाडौं ल्याएको थियो।

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको थिए।
प्रकाशन मिति–२०७६ साल चैत १९ गते बुधवार ।