काठमाडौं। रमदान (रमजान) महिना सकिएको खुशीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउने कार्य भैरहेको छ। ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।

ईद पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ। सोही अनुरुप घरमै बसेर ईद मनाएर ईद मुबारक भनेर एक आपसमा शुभकामना आदान–प्रदान गर्ने कार्य भैरहेको छ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ। प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन्।

Photo By-Kabindra Man Shakya (Vetran Photographer of Nepal)                                        प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।