काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले गर्भवती तथा सुत्केरीले कोरोनाभाइरस (कोभिड–१९) बाट बच्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा निर्देशक डा.गौतमले सुत्केरी तथा गर्भवती महिलाहरु ठूलो समस्या नपरी अस्पताल नजान भनेका छन्।

ज्वरो आएमा, जीउ सुन्निएमा, रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जान डा.गौतमको सल्लाह रहेको छ। यदि कोही महिला कोरोना संक्रमित छिन् र डेलिभरी हुने बेला भएको छ भने अस्पतालमा छुट्टै लेबर रुम र अपरेसन कक्ष स्थापना गरिएको जानकारी पनि डा.गौतमले दिएका छन्।

मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोना संक्रमितको संख्या ४९ रहेको र १२ जना निको भएर घर फर्किइसकेको जनाए। उनले कोभिड–१९को महामारीमा औलोको पनि प्रकोप बढ्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे। धनगढीमा १ जना, वीरगन्जमा ५, भरतपुरमा १ र विराटनगरमा ३० जना उपचाररत छन्। सबैको स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।

शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ३९ हजार ६ सय ७० नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ६ सय ६६ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४९ हजार ३ सय ३६ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८७ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८४ जना रहेका छन्। क्‍वारेन्टाइनमा १४ हजार ७ सय ३१ जना रहेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १३ गते शनिवार ।