ललितपुर। कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान आइतबारबाट शुरु भएको छ। तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्य भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।

ललितपुरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन देखि वडा अध्यक्ष तथा सदस्यहरुले पाटन अस्पतालमा उत्साहपूर्वक कोरोनाविरुद्धको खोप लगाउने कार्य भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको साथमा वरिष्ठ वडा सदस्य अशोक कुमार श्रेष्ठ, वडा सदस्य पूनम निरौला र मञ्जु रिजालले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।

फ्रन्टलाइनमा जनतासंग प्रत्यक्ष रुपमा कार्य गर्नुपर्ने जनप्रतिनिधिहरुलाई दिइएको कोरोनाविरुद्धको खोपले आफूहरुलाई जनसेवा गर्न अझ उत्साहित वनाएको वडा अध्यक्ष श्रेष्ठले प्रतिक्रिया व्यक्त गरेका छन्।

भारतले १० लाख मात्रा कोभिसिल्ड खोप अनुदानमा दिएपछि पहिलो चरणमा माघ १४ देखि २४ सम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो । पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ सम्म निर्धारण गरिएको हो। तेश्रो चरणको अभियानमा ३ लाख जनालाई खोप लगाउने सरकारको योजना छ।


प्रकाशन मिति–२०७७ साल फागुन २ गते आइतवार ।