काठमाडौं। कोरोनाको महामारीमा दशैं पेश्की नलिने सांसदमा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ मात्र देखिएको छ। संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दशैं पेस्की बुझेर लगेका छन् । तर, सांसद श्रेष्ठले दशैं भत्ता नलिएको र कोरोनाको महामारी यता तलब पनि नलिने र बन्द गरिदिन संसद सचिवालयलाई पत्र लेखेर ठूलो महानता दर्शाएका छन्।

सांसद श्रेष्ठको यो महानतालाई सवै सांसदले अनुसरण गर्न अत्यन्त आवश्यक भएको सर्वसाधारणको भनाई रहेको छ। कोरोनाको महामारीमा आइसोलेसन, क्वारेन्टाइन लगायतका उपचार नपाएर छटपटाएका नेपाली जनतालाई उपचार गर्ने व्यवस्थाको लागि रकमको जोहो गर्नुपर्ने अवस्थामा दशैं भत्ता बुझेर सांसद तथा मन्त्रीहरुले आफ्नो हैसियत देखाएको सर्वसाधारणको बुझाई रहेको छ।

संविधानतः प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसदमा ३ सय ३४ सांसद छन्। राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ।

त्यस्तै, प्रतिनिधिसभातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट बमकाण्डमा जेल परेका मोहम्मद आफताब आलमको तलब–सुविधा स्वतः रोकिएको छ ।

मन्त्रीहरूको तलब मन्त्रिपरिषदवाटै जाने भएकाले संसदवाट निकासा भएको छैन । तर, तीनजना नवनियुक्त मन्त्रीले संसदवाट दशैं भत्ता बुझेर मन्त्रीको शपथ खाएको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ। यसरी मन्त्रिपरिषद्का २२ सदस्य, चारजना निलम्बित सांसद, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक ३ सय ६ सांसदले दशैं मनाउन पूरै एक महिनाको तलब बुझेका छन् ।

प्रकाशन मिति–२०७७ साल कात्तिक १ गते शनिवार ।