ललितपुर। कोरोना कहरको वर्तमान विषम परिस्थितिमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कमाचार्यले रक्तदानमा नयाँ रेकर्ड थपेका छन्। रेकर्डेट रक्तदाता कर्माचार्यले १६३ औं पल्ट रक्तदान गरेर आफ्नो रक्तदानको रेकर्डमा नयाँ रेकर्ड थपेका हुन।

ललितपुरको सिद्धिपुर स्थित नेवाःदेय् दबू महालक्ष्मी नगर समितिको आयोजनामा शनिवार भएको विशेष रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले रक्तदान गरेका थिए। रेकर्डेट रक्तदाता कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको विशेष रक्तदान कार्यक्रममा १०७ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा.मनिता राजकर्णिकार, महालक्ष्मी नगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष वासुदेव महर्जन लगायतको आतिथ्यता रहेको थियो। नेवाःदेय् दबू महालक्ष्मी नगर समितिका अध्यक्ष विजयकुमार महर्जनको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाण–पत्र रेकर्डेट रक्तदाता कमाचार्यको तस्वीर अंकित टि–शर्ट,पञ्जा,सेनिटाईजर,साबुन र मास्क समेत बितरण गरिएको थियो।
प्रकाशन मिति–२०७७ साल भाद्र १३ गते शनिवार ।