काठमाडौं। दोश्रो फेजको कोरोना कहरमा पुग्दा ग्रीन जोन मानिएको काठमाडौं उपत्यका रेडजोनमा परेको छ। कोरोना संक्रमण उपत्यकामा चर्को भएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन,प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो।
साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।

यस्तै भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ। दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ । अब पुजारीले नित्यपूजाबाहेक अरूलाई मन्दिर जान समेत प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख छ।

त्यस्तै चाडपर्व, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ। अब परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ।

कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा–साइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको छ। उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ।

कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर भिडभाड हुने गतिविधिमा रोक लगाइएको जनाइएको छ। आदेशमा निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख गरिएको छ।

प्रकाशन मिति–२०७७ साल साउन ३० गते शुक्रवार ।