काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको वर्तमान समयमा कोरोना संक्रमितहरुलाई समाजले गर्ने व्यवहार मानवता विपरित देखिएको छ। कोरोना संक्रमण हुनासाथ उनीहरुलाई समाजले बहिष्कार जस्तो गर्ने व्यवहारले कोरोना कहरमा मानवता हराएको हो कि भन्ने संकेत देखिएको छ।

कोरोनाको यो महामारीमा कोरोना संक्रमितलाई सामाजिक बहिष्कार नगरिकन उनीहरुलाई माया–ममता तथा आत्मबल बृद्धि गराएर कोरोना जित्न सबल बनाउन आवश्यक छ। दुव्र्यवहार होइन, माया–ममता तथा स्नेह दिएर पोषिलो खानेकुरा उपलव्ध गराउन अति आवश्यक छ।

अर्कोतर्फ, कोरोना संक्रमितहरुको उपचार गर्ने डाक्टर तथा नर्सहरुलाई पनि सोही दृष्टिकोणले अपहेलना गर्ने र गराउने सामाजिक विकृतिको बोलवालाले समाज रुपान्तरण हुनुपर्ने स्थानमा समाज उन्नाइसौं शताव्दीतिर फर्कन लागेको हो कि भन्ने आभाँस हुन थालेको छ।

कोरोना संक्रमित बिरामीलाई हौसला दिनुपर्दछ, आवश्यकतानुसार सहयोग गर्नुपर्दछ अनि सकारात्मक भएर उनीहरुलाई उपचारपछि परिवार-समाजमा पुनःस्थापित गर्नुपर्दछ। कोभिड–१९ का बिरामीहरु बढिरहेको वर्तमानमा राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा छरछिमेकबाटै दुव्र्यवहार तथा सामाजिक बहिष्करणसमेतका घटनाले रोगले भन्दा पनि सामाजिक बहिष्कारको पीडाले धेरैको ज्यान गैरहेको छ। यसतर्फ सरकार सचेत वनेर यसतर्फ सचेतना अभिबृद्धि गर्न र गराउन अत्यन्त आवश्यक भैसकेको छ।

मुलुकभर अहिले ५ सयभन्दा बढी स्वास्थ्यकर्मी र ९ सयभन्दा बढी सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएपछि उपचार गराइरहेका छन् । अग्रपंक्तिमा रहेर जनताको सेवा तथा बिरामीको उपचारमा जुटेका उनीहरु संक्रमित हुन पुग्नु अस्वाभाविक होइन। कोरोनाभाइरस अन्य रोगहरुभन्दा बढी नै गुणात्मक हिसाबले फैलने सरुवारोग भएको तथा विश्व स्वास्थ्य संगठनको मान्यताअनुरुपका सुरक्षात्मक उपायहरु अवलम्बन गर्न नसकेका कारणले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु बढी प्रभावित बनेका हुन।

विभिन्न सञ्चारमाध्यमबाट यस महामारीका बारेमा बेलाबेलामा चेतनामूलक सामग्री तथा प्रचारप्रसार हुँदै आए पनि मानिसहरुमा चेतनाको कमी भएकोले बिरामीप्रति हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । मनोवैज्ञानिकहरु पनि चेतनाकै कमीले गर्दा यस्ता घटनाहरु बढ्ने कुरालाई स्वीकार्दछन् ।

राजधानी काठमाडौंको नयाँ बानेश्वर, चितवन, तनहुँको दमौली, नवलपरासीको कावासोती र काभ्रेको धुलिखेललगायतका स्थानमा कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीहरुमाथि दुव्र्यवहार भएकोले त्यस खालका घटनाको बारेमा छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै आएको पाइन्छ । तर अझै पनि मानिसमा चेतना आउन भने सकेको छैन । जुन दुःखद कुरा हो।

कोरोना संक्रमण भनेको जसलाई पनि हुनसक्ने सरुवा रोग हो र आज अरुलाई बहिष्कार गर्नेलाई भोलि अरुले पनि बहिष्कार ग-यो भने, आफ्नो अवस्था कस्तो हुनेहोला भनेर अलिकति मात्र विचार गरेमा कोरोनालाई सहजै जित्न सकिने प्रशस्त आधार छन्। कोरोना जित्नका लागि प्रचुर आत्मबलको आवश्यकता छ। सवैमा यो विचारको जागरुकता भएमा निश्चित रुपमा कोरोना जित्न कुनै गाह्रो भने हुंदैन।


(नामी साप्ताहिकको सम्पादकीयवाट साभार ।)
प्रकाशन मिति–२०७७ साल भाद्र २४ गते विहीवार ।