काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउनमा पनि काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक (डीस–इन्फेक्टेन्ट) छर्ने कार्यलाई निरन्तरता दिदैँ आएको जनाइएको छ। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको हो।

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैआएको छ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि मेयर शाक्यले भनेका छन्। कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको जानकारी पनि मेयर शाक्यले दिएका छन्।

प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरिएको र गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको मेयर शाक्यको भनाई छ ।
प्रकाशन मिति–२०७७ साल भाद्र ५ गते शुक्रवार ।